आगामी कात्तिक २८ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने नेपाली फिल्म ‘धागो’को पहिलो गीत 'ट्याउँ ट्याउँ' सार्वजनिक गरिएको छ। यो रोमान्टिक कमेडी शैलीमा तयार गरिएको गीतमा पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ। गीतको शब्द र संगीत पनि पुष्पन प्रधानले गरेका छन्।
गीतको भिडियोमा प्रमुख कलाकारहरू बुद्धि तामाङ, वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा, सुरभि थापा लगायतका कलाकारहरूले आकर्षक नृत्य प्रदर्शन गरेका छन्। भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। गीतको थिम प्रेम, आकर्षण र चाहनासँग जोडिएको छ, जसले दर्शकलाई फिल्मप्रति थप उत्साही बनाउने अपेक्षा गरिएको छ।
यो फिल्म उदीप राना थापाको निर्देशनमा तयार भएको हो। फिल्ममा सुरक्षा, बुद्धि, प्रभात, सुरभि र अन्य कलाकारहरूले महत्वपूर्ण भूमिका निभाएका छन्। वर्षा राउत भने गीतको भिडियोमा अभिनय मात्र गरेकी छन्। निर्देशक थापा स्वयंको लेखन रहेको यो फिल्मलाई बलिउडका प्रसिद्ध सिनेमेटोग्राफर अनिकेर एम. घोघलेले खिचेका हुन्।
फिल्म 'धागो' म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाको ब्यानरमा बनेको हो र यसको सम्पादन अखिलेश रायले गरेका छन्। बिनु प्रधानले कस्ट्युम डिजाइन, अनुरूप केर्टकेट्टाले भीएफएक्स, अमित त्रिवेदीले साउन्ड डिजाइन र निर्मल पन्याले ब्याकग्राउण्ड स्कोरमा योगदान दिएका छन्। फिल्मको लगानी उमा थापा, उत्तम थापा र उदीप थापाले गरेका हुन्, जबकि सह-निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन्।
निर्देशक उदीप थापाले यस फिल्मलाई नेपाली परिवारहरूको जीवन, सांस्कृतिक धागो र उनीहरू बीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरेका छन्। उनले 'धागो'लाई आफ्नै माटो र समाजको कथा मान्ने बताएका छन्। यो थापाको पहिलो निर्देशकीय फिचर फिल्म हो र उनले डुवर्सको नेपाली समुदायको कथालाई विश्वभरका दर्शकसामु प्रस्तुत गर्न चाहेका छन्।