राजधानीको सेन्ट्रल बिजनेस पार्कमा भएको आगलागीका कारण भायानेटको प्रमुख डाटा सेन्टर क्षतिग्रस्त हुँदा इन्टरनेट र viaTV सेवा अवरुद्ध भएको छ। कम्पनीले आफ्नो सेवामा आएको अवरोधका कारण ग्राहकसँग माफी मागेको छ।

भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले कान्तिपुर मिडिया ग्रुप रहेको भवनको चौथो तलामा अवस्थित डाटा सेन्टरमा क्षति पुर्‍याएको भायानेटले जनाएको छ। कम्पनीसँग ब्याकअप डाटा सेन्टरहरू भए पनि ती सबैले एकैपटकको इन्टरनेट ट्राफिक सम्हाल्न नसक्दा देशभरका ग्राहक प्रभावित भएका थिए।

"भवन असुरक्षित भएकाले तत्काल प्रवेश सम्भव भएन, तर ब्याकअपमार्फत आंशिक इन्टरनेट सञ्चालन गर्न सकियो। त्यसबीचमा viaTV सेवा सञ्चालनमा ल्याउन भने सम्भव भएन," भायानेटले विज्ञप्तिमा उल्लेख गरेको छ।

भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे प्राविधिक टोली भवनभित्र प्रवेश गरी आवश्यक सर्भरहरू सुरक्षित रूपमा अर्को डाटा सेन्टरमा स्थानान्तरण गरिएको थियो।

कम्पनीका अनुसार अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ भने आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको छ। viaTV सेवा पनि चाँडै सुचारु गरिने बताइएको छ।

भायानेटले घटनालाई दुर्भाग्यपूर्ण भए पनि यसले नेटवर्कलाई अझ मजबुत बनाउन प्रेरणा मिलेको जनाएको छ। "ग्राहकवृन्दको धैर्य, विश्वास र साथका लागि धन्यवाद," कम्पनीले भनेको छ।