यसपालिको दशैंको फूलपाती (१३ असोज)मा दर्शकमाझ आउन लागेको फिल्म **‘बलिदान’**को शीर्ष गीत सार्वजनिक भएको छ । लिरिकल शैलीमा प्रस्तुत गरिएको यस गीतमा सुजन चापागाईँको मधुर स्वर र संगीत रहेको छ भने हर्क साउदले हृदयस्पर्शी शब्द कोरेका छन् । गीतलाई कोविद बज्रले संगीत संयोजन गरेका छन्, साथै विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल मार्फत गीतलाई अझै मिठास भरेका छन् ।
गीतको भिडियोले अझै प्रेम र समर्पणको कथा सुनाउँछ । एनिमेटेड दृश्यहरूसहित बनेको यस भिडियोमा मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्मालाई प्रस्तुत गरिएको छ । ऋचाले समीरकी आमाको भूमिका निभाएकी छन्, जसले आमाको माया र मातृभूमिप्रतिको समर्पणलाई मन छुने ढंगले उतारेको छ । केही दृश्यहरूले समीरले माझी समुदायको पात्रलाई आत्मसात गरेको संकेत गर्छन्, जहाँ आमा र मातृभूमिको प्रेमएकैसाथ बगिरहेको अनुभूति हुन्छ ।
रोमान्टिक फिल्म निर्माणमा परिचित सन्तोष सेन यसपालि फरक बाटो रोज्दै ‘बलिदान’मार्फत देशको पीडा र घाउलाई देखाउन लागेका छन् । उनी भन्छन्, “अन्यायले नागरिकलाई निरन्तर घेरिरहँदा लाग्यो, आमा र मातृभूमिको लागि एउटा युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ, र यही बाटोबाट ‘बलिदान’ जन्मियो ।”
आसुसेन फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई दर्शन जीले लेखेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरीरहेका छन् । फिल्ममा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल आदिको अभिनय रहनेछ ।
‘बलिदान’ केवल एउटा कथा मात्र होइन—यो आमा र मातृभूमि दुबैप्रतिको प्रेमको माया ट्रेल हो, जसले दर्शकको मुटु छोइरहने अपेक्षा गरिएको छ ।