आउँदो दशैंको फूलपाती (१३ असोज)मा फिल्म ‘हरिबहादुरको जुत्ता’ नेपालसँगै अमेरिकामा पनि एकैपटक प्रदर्शन हुने भएको छ। अमेरिकामा मात्र करिब ८० स्क्रिनमा फिल्म रिलिज हुने वितरक कम्पनी इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ। यस कम्पनीका प्रमुख आहाना पौडेल हुन्, जसले यसै फिल्ममार्फत वितरण क्षेत्रमा आफ्नो यात्रा सुरु गर्न लागेका हुन्। उनी प्रख्यात वितरक उज्ज्वल पौडेलका छोरा हुन्।
टेक्सासमा बस्दै आएका आहानाका अनुसार ‘हरिबहादुरको जुत्ता’ सीधै अमेरिकाको बक्स अफिसमार्फत रिलिज हुनेछ। फिल्म टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्पसायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्डलगायतका राज्य तथा सहरका हलमा देखाइनेछ।
यसैगरी, फिल्मलाई अमेरिकाका प्रमुख मल्टीप्लेक्स चेनहरू सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाजमा रिलिज गर्ने तयारी भइरहेको छ। टिजर र दुई गीत ‘बेला बितेसी’ र ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भइसकेपछि अमेरिकन दर्शकमाझ फिल्मप्रतिको चासो उल्लेख्य रूपमा बढेको आहानाको विश्वास छ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने र दिव्य देवको अभिनय छ। सरोज ओली र मोहितवंश आचार्य निर्माताको भूमिकामा रहेका फिल्ममा हरिवंश आचार्यको लेखन, कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ।