आउँदो कात्तिक ६ गते भाइटीकाको अवसर पारेर प्रदर्शनमा आउने फिल्म **‘सोल्टिनी’**को आधिकारिक टिजर सार्वजनिक भएको छ। करिब दुई मिनेटको टिजरले चलचित्रले उठाउने मुख्य कथा, पात्रबीचको सम्बन्ध र त्यसले जन्माउने संघर्षलाई उजागर गरेको छ।
फिल्ममा गायक तथा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूलाई जोडीको रूपमा प्रस्तुत गरिएको छ। उनीहरूले निभाएको अन्तरजातीय प्रेमकथालाई टिजरले मुख्य आधार बनाएको छ। बाल्यकालदेखि प्रेममा बाँधिएका पात्रहरूले फरक जातीय पृष्ठभूमिका कारण भोग्नुपर्ने सामाजिक चुनौतीलाई टिजरमा प्रभावकारी ढंगले चित्रण गरिएको छ। राई समुदायको परम्परा, संस्कृति र पहिचानलाई पनि टिजरमार्फत झल्काइएको छ।
दर्शकले टिजरबाटै प्रेम, सामाजिक संघर्ष र सांस्कृतिक द्वन्द्वको गहिरो स्वाद लिन सक्ने संकेत मिलेको छ। भावनात्मक पक्षमा फिल्म बलियो रहने अनुमान गर्न सकिन्छ।
अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यस फिल्ममा प्रकाश–परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडालगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
प्लानेट थ्रीको ब्यानरमा बनेको चलचित्रको कथा र पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्। चलचित्रका कार्यकारी निर्माता धरानका मेयर हर्क साम्पाङ नेतृत्वमा रहेको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ रहेका छन् भने रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता हुन्।
फिल्मको छायांकन सुसन प्रजापति, सम्पादन निमेष श्रेष्ठ र संगीत संयोजन प्रशान्त सिवाकोटी तथा हर्कुलस बस्नेतले गरेका छन्। ‘सोल्टिनी’ले जातीय विभेद र सामाजिक असमानताविरुद्ध सशक्त सन्देश दिन खोजेको बताइएको छ।