फिल्म ‘जारी २’ आफ्नो प्रदर्शन मिति दुई साता पछाडि सारिएसँगै असोज ६ गते (भाइटीका)बाट रिलिज हुने फिल्महरूलाई अतिरिक्त अवसर मिलेको छ। सोही दिनबाट प्रदर्शनमा आउन लागेको *‘वरिष्ठ बलराम’*ले प्रचार–प्रसारलाई गति दिएको छ। बिहीबार फिल्मको दुई नयाँ पोस्टर सार्वजनिक गरिएको हो।

पहिलो पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बरालबीच तीव्र घम्साघम्सी देखाइएको छ, जसको पृष्ठभूमिमा लामबद्ध टिपरहरू देखिन्छन्। दोस्रो पोस्टरमा दयाहाङ र विजयलाई सोचमग्न मुद्रामा प्रस्तुत गरिएको छ भने अभिनेत्री समृद्धि अर्याल हँसिलो अभिव्यक्तिसहित देखिएकी छन्। यी दृश्यहरूले फिल्मको कथा अस्तित्व र संघर्ष वरिपरि केन्द्रीत हुने संकेत गरेका छन्।

सम्पादकको रूपमा ख्याति कमाएका सुरेन्द्र पौडेलले निर्देशन गरेको यस फिल्ममा दयाहाङ, विजय र समृद्धिसहित पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। पौडेल स्वयंले कथा र सम्पादन गरेका फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।

‘वरिष्ठ बलराम’ वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण गरिएको हो। फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। छायांकन मनकृष्ण महर्जनले गरेका छन् भने संगीत प्रशान्त शिवाकोटी, द्वन्द्व निर्देशन सम्राट बस्नेत र नृत्य निर्देशन प्रदीप लामाले गरेका छन्। सामाजिक कथामा आधारित यो फिल्मको छायांकन चितवनमा सम्पन्न गरिएको हो।