आगामी असोज १३ गते (दशैंको फूलपाती) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक गरिएको छ। तीन मिनेटभन्दा लामो ट्रेलरमा अभिनेता हरिवंश आचार्यलाई केन्द्रमा राखिएको छ। उनी आफ्नै चर्चित पात्र हरिबहादुर को भूमिकामा पुनः देखिएका छन्।

ट्रेलरको सुरुवाती दृश्यमा हरिबहादुर जेलबाट निस्किएको देखिन्छ भने अन्त्यमा फेरि ऊ जेलमै पुगेको दृश्य राखिएको छ। बीचमा उसले समाजमा पुनःस्थापित हुन गरेको संघर्ष र राजनीतिक दाउपेचलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलरले सजाय काटेर फर्केका व्यक्तिलाई समाजले गर्ने अपमान र अविश्वासकै कारण कसरी पुनः गलत बाटोमा धकेलिन्छ भन्ने कथाको संकेत गरेको छ।

फिल्ममा हरिवंश तीन श्रीमतीसहित प्रस्तुत भएका छन्। अभिनेत्री स्वस्तिमा खड्का नेताको भूमिकामा देखिएकी छन् भने ट्रेलरमा उनलाई उम्मेदवार बनेर जनतासँग भोट मागिरहेको देख्न सकिन्छ। गायक प्रकाश सपूतलाई साइबर सेनाको परिचालन गर्ने पात्रमा प्रस्तुत गरिएको छ। त्यस्तै, प्रियंका कार्की प्रहरीको भूमिकामा देखिएकी छन्।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्ममा हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायत कलाकारहरूको पनि अभिनय छ। फिल्मको निर्माण सरोज ओली र मोहितवंश आचार्यले गरेका हुन्। कृष्ण बहादुर थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको फिल्मको ‘बेला बितेसी’ गीत अहिले चर्चामा छ।