यसपटकको दशैंमा बहुप्रतिक्षित फिल्म ‘अभिमन्यु’ नेपाली र हिन्दी दुवै भाषामा पर्दामा आउँदैछ। नेपाली संस्करण असोज १३ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउनेछ भने हिन्दी संस्करण असोज १६ गते दशैंको टीकादेखि हलमा लाग्नेछ। दुवै भाषाको पोस्ट–प्रोडक्सन कार्य पूरा भएको निर्माण पक्षले जनाएको छ।

हालै सार्वजनिक गरिएको हिन्दी भर्सनको प्रोमोमा कलाकार कामेश्वर चौरासिया र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ। यस संस्करणमा भारतीय चर्चित भ्वाइस आर्टिस्ट सचिन गोलेले कामेश्वरको पात्रलाई आवाज दिएका छन्। ‘केजीएफ’मा अभिनेता यशलाई हिन्दीमा स्वर दिएका उनले यसअघि ‘प्रेमगीत ३’ र ‘गोर्खा वारिअर’ जस्ता नेपाली फिल्म पनि डब गरिसकेका छन्।

सचिनले भिडियो सन्देशमार्फत् *‘अभिमन्यु’*मा काम गर्न पाएको खुसी व्यक्त गर्दै भनेका छन्, “फिल्म उत्कृष्ट बनेको छ। म अझै भन्छु, यो मेरो लागि नै लेखिएको पात्र होजस्तो लाग्यो। निर्माताको मेहनतलाई म सलाम गर्छु।”

निर्देशक सुशान्त गौतमको निर्देशनमा तयार यो फिल्ममा कामेश्वर र लक्ष्मीका साथै शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठलगायतको पनि अभिनय रहेको छ। छायांकन शरद महतोले गरेका हुन्। निर्माणमा विनोद पौडेल र गुञ्जन गिरी मुख्य निर्माता रहेका छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता हुन्। विनोद र रमेश यसअघि चर्चित फिल्म *‘पूर्ण बहादुरको सारङ्गी’*का पनि निर्माता थिए।