निर्माण पक्षले सोमबार घटस्थापनाको अवसर पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। सो मितिमा अन्य कुनै नेपाली फिल्मको प्रदर्शन तोकिएको छैन।

सार्वजनिक पोस्टरमा एक पुरुष पात्रलाई महिलाको भेषभूषा र श्रृङ्गारमा देखाइएको छ। उनी भुइँमा लडिरहेको अवस्थामा देखिन्छन् र उनको अनुहारमा कसैले जुत्ता लगाएको खुट्टाले थिचिरहेको छ। यस दृश्यले फिल्मले पहिचान र अस्तित्वसँग जोडिएको कथावस्तु प्रस्तुत गर्ने संकेत गरेको छ। तर निर्माण टिमले कथा अझै गोप्य राखेको छ।

फिल्मलाई त्यागमूर्तिले लेखन तथा निर्देशन गरेका हुन्। यसमा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेर बहादुर डिसी, ‘मेरी बास्सै’का सापटी काका, मिनाक्षी खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य, बाल कलाकार सागर खरेललगायतले अभिनय गरेका छन्।

निर्माता टोलीमा निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेश प्रसाद भट्ट रहेका छन्। डेढ करोड बजेटमा बनेको फिल्ममा संगीत र कोरियोग्राफी स्वयं निर्देशकले नै गरेका छन्। महफूज अंसारी र राहुल राईले छायांकन गरेका छन् भने सम्पादन सुभास देवकोटा, ब्याकग्राउन्ड म्युजिक लोकनाथ सापकोटा, श्रृङ्गार डिके हमाल, रंग संयोजन कल्पेश विश्वकर्मा र पोस्टर डिजाइनको जिम्मा पनि कल्पेश विश्वकर्माले सम्हालेका छन्।