यस वर्षको दशैंको फूलपाती (असोज १३) बाट तीन नेपाली फिल्म—‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ देशभर प्रदर्शनमा आउँदैछन्। यी बहुप्रतिक्षित फिल्मलाई सन्तुलित ढंगले शो दिन हलहरू अहिले ठूलो चुनौतीमा परेका छन्। त्यसमाथि, साउथ भारतीय ब्लकबस्टर फिल्म ‘कान्तारा २’ समेत दशैंमै रिलिज हुने भएपछि हलहरूमा शो बाँडफाँट झन् जटिल भएको छ।
हालसालै सार्वजनिक भएको शो तालिकाअनुसार, तीन फिल्मलाई क्रमशः ४५%, ३०% र २५% शो छुट्याइएको छ। सबैभन्दा बढी शो ‘बलिदान’ले पाएको छ, जसले देशव्यापी करिब २०० शो पाएको छ। ‘माइतीघर’ ले १२० भन्दा बढी शो हात पारेको छ भने ‘हरिबहादुरको जुत्ता’ ११६ शोमा प्रदर्शन हुने भएको छ। केही हलमा अझै पनि अतिरिक्त शो खुल्ने बाँकी छ। अब यी फिल्मको प्रमुख चुनौती भनेको उपलब्ध शोमा अकुपेन्सी कायम गर्नु हो।
मल्टिप्लेक्सहरूले तीनै फिल्मलाई accommodates गर्न बिहान ५:३० बजेदेखि मध्यरात ११:५५ बजेसम्म शो राखेका छन्। अन्तिम शो सकिँदा बिहान करिब ३ बज्नेछ। यसरी हेर्दा फूलपातीदेखि हलहरू दैनिक झन्डै २२ घण्टा सञ्चालनमा रहनेछन्। यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुँदा पनि हलहरू २१–२२ घण्टा निरन्तर खुलेका थिए।
व्यापारिक हिसाबले, यी तीन फिल्मले मिलेर कम्तीमा ४५ करोड रुपैयाँको कारोबार गर्नुपर्ने देखिन्छ। ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ दुवैको प्रचारसहित निर्माण लागत ५ करोडभन्दा बढी रहेको छ भने ‘माइतीघर’ करिब ३ करोडमा बनेको हो। विगत वर्ष (२०८१ साल) को दशैंमा चार नेपाली फिल्मले ४५–५० करोडको कारोबार गरेको तथ्यलाई हेर्दा यस वर्ष पनि उक्त लक्ष्य असम्भव भने देखिँदैन।