यस वर्षको दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् – माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता। सुरुमा यो मिति आधा दर्जनभन्दा बढी फिल्मले लक्षित गरेका थिए, तर केही निर्माण सम्पन्न नहुँदा र केहीले मिति सार्दा अन्ततः यी तीन फिल्म मात्र रिलिज भए। सोमबारदेखि बक्स अफिसमा तिनै फिल्मबीच प्रतिस्पर्धा सुरु भएको छ।
अग्रिम टिकट बुकिङ र शो संख्याको हिसाबले बलिदान अगाडि देखिएको छ। दुई सयभन्दा बढी शो पाएको यस फिल्मका करिब २०–२५ शो सोमबारकै लागि अग्रिममै हाउसफुल भएका छन्। दर्शकको सकारात्मक प्रतिक्रिया पाएको खण्डमा ओपनिङ अकुपेन्सी ८०–८५ प्रतिशत पुग्ने आँकलन गरिएको छ, जसले करिब डेढ करोडसम्मको व्यापार गर्न सक्ने सम्भावना छ।
बलिदानपछि बढी शो पाएको फिल्म माइतीघर हो। यसले देशव्यापी करिब डेढ सय शो पाएको छ। केही शो अग्रिममै भरिएका छन् र दर्शकको प्रारम्भिक उत्साह उत्साहजनक देखिन्छ। फिल्मले दशैंको विदाबाट राम्रो फाइदा लिने अपेक्षा गरिएको छ।
यता, करिब १३० शो पाएको हरिबहादुरको जुत्ता पनि टिकट बिक्रीमा बलियो देखिएको छ। आधा दर्जनभन्दा बढी शोमा ६५–७० प्रतिशत टिकट बिक्री भइसकेको छ। यदि फिल्मको ‘डोरसेल’ बलियो रह्यो भने यसले बलिदानपछि दोस्रो ठूलो ओपनिङ गर्न सक्ने अनुमान गरिएको छ। तर यसको भविष्य मुख्यत: ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ।
कलाकारतर्फ हेर्दा, मिलन तामाङ निर्देशित माइतीघरमा केदार घिमिरे, प्रकाश सपूत, धीरज मगर, उपासना सिंह ठकुरीलगायतको अभिनय छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको हरिबहादुरको जुत्तामा हरिवंश आचार्य, प्रकाश सपूत, स्वस्तिमा खड्का मुख्य भूमिकामा छन्। बलिदानलाई सन्तोष सेनले निर्देशन गरेका हुन् भने यसमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा लगायतले अभिनय गरेका छन्।
यसरी, दशैंमा तीन नेपाली फिल्मबीचको प्रतिस्पर्धाले दर्शकलाई फरक–फरक स्वाद दिनेछ भन्ने आशा गरिएको छ।