बहुप्रतिक्षित नेपाली फिल्म ‘सोल्टिनी’ले आफ्नो अफिसियल टाइटल गीत ‘दाजुकी साली’ सार्वजनिक गरेको छ। गीत सार्वजनिकसँगै फिल्मले दर्शकमाझ उत्साह र कौतुहल थपिदिएको छ।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यस फिल्मले कार्तिक ६ गते २०८२ बाट विश्वव्यापी प्रदर्शन हुने घोषणा गरेको छ।
गीतमा गायक एसडी योगीको स्वर रहेको छ भने संगीत हर्कुलस बस्नेतले भरेका छन्। शब्द अर्जुन सुवेदीले लेखेका हुन्। उदयराज पौडेलले एरेञ्ज गरेका यस गीतलाई श्याम स्वेत रसाइलीले मिक्स र मास्टर गरेका छन्। गीतको रेकर्डिङ प्रिस्मा स्टुडियोमा गरिएको हो।
फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बु, विल्सन बिक्रम राई, प्रेम सुब्बा, रबिन्द्र झा, प्रकाश घिमिरे, कविता आले, रश्मी भट्ट, शारदा सिलवाल, सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडालगायत कलाकारको दमदार अभिनय रहनेछ।
फिल्मको निर्देशन अर्जुन सुवेदीले गरेका छन् भने निर्माणमा रीजिना बिष्टा र संसार चौलागाई रहेका छन्। सह–निर्मातामा रोशन चौलागाई, बसन्त कटुवाल र सुजन अधिकारी छन्। फिल्मको लेखन अर्जुन सुवेदी र कुमार ओएमडी भट्टराईले गरेका हुन्। छायांकन सुषन प्रजापतिले गरेका छन् भने सम्पादन निमेश श्रेष्ठले गरेका छन्। फिल्मको रंग संयोजन कृष्ण भण्डारीले गरेका हुन्। कला निर्देशन आदित्य मिश्राको छ भने पोसाक डिजाइन सुजन परियारले गरेका छन्।
यस फिल्मका कोरियोग्राफर शिशिर खाती र मौसमी हिमाली रहेका छन्। गीतमा आकर्षक रङ्ग, जीवन्त अभिनय र लयात्मक प्रस्तुति मार्फत फिल्मले दर्शकलाई रमाइलो मात्र नभई गहिरो मनोरञ्जन दिने संकेत गरेको छ।
फिल्म ‘सोल्टिनी’ दशैंपछिको ठूलो उपहारका रूपमा आएको छ र दर्शकले निकै उत्साहका साथ पर्खाइ गरिरहेको स्पष्ट देखिन्छ।