अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतको प्रमुख अभिनय रहेको बहुप्रतिक्षित नेपाली फिल्म मालती मंगले को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार फिल्मको अन्तिम दृश्य स्याङ्जा जिल्लामा सोमबार खिचिएको हो। तनहुँ र स्याङ्जामा गरेर कुल ३१ दिनको छायांकनपछि फिल्मको टिम काठमाडौं फर्किएको छ।
फिल्मको शुभमुहूर्त गत महिना काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा गरिएको थियो। सो अवसरमा निर्माता तथा गायक रामकृष्ण ढकालका अभिभावक गोपाल कर्माचार्यले क्ल्याप दिएर छायांकन आरम्भ भएको थियो भने विजय र वर्षाले पहिलो दृश्यमा अभिनय गरेका थिए।
रानी म्युजिक इन्टरनेशनल र युनी इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो फिल्ममा विजय बराल र वर्षा राउतसँगै मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
फिल्मको निर्देशन प्रकु पाण्डेयले गरेका हुन्। कथा पाण्डेयकै रहेको यसमा पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका छन्। महेश पौडेलले छायांकन गरेका यस फिल्मलाई रोमी तण्डुकारले सम्पादन गर्नेछन्।
बाबु सुवेदी, रविन श्रेष्ठ, बेदना कर्माचार्य श्रेष्ठ र स्विकृति बस्नेत सह-निर्माता रहेको मालती मंगले यसै वर्षको अन्त्यसम्म प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको रहेको छ।