फिल्म जेरी अन टप को नयाँ गीत सार्वजनिक गरिएको छ । सरोज न्यौपाने प्रस्तुतकर्ता र अनन्या फिल्म्स प्रोडक्सनले निर्माण गरेको यो फिल्म सुयोग गुरुङको निर्देशनमा बनेको हो, जसलाई असोज ३१ गतेदेखि प्रदर्शनमा ल्याइने भएको छ ।
गीतमा बिराज गौतम, राजेश पायल राई र अन्नु ढकालको स्वर रहेको छ भने बृजेश श्रेष्ठ र बिराज गौतमले शब्द तथा संगीत संयोजन गरेका छन् । संगीत निर्माण बृजेश श्रेष्ठकै रहेको छ भने राहुल विश्वकर्माले म्यान्डोलिन वादन गरेका छन् । यो गीत चर्चित फिल्म साइनो को लोकप्रिय गीतको पुनःनिर्माण हो । यस अवसरमा निर्माण पक्षले मूल गीतका सर्जक तथा साइनो टिम – संगीतकार रणजीत गजमेर, गीतकार कुसुम गजमेर, निर्देशक उगेन चोपेल र निर्माता मालती राईलाई विशेष धन्यवाद प्रकट गरेको छ ।
फिल्मका निर्माता भबिष्य खड्का, रोबिन शेर्चन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपाने हुन् । कार्यकारी निर्माता अनिरुद्ध गिरी र ईश्वर श्रेष्ठ रहेका छन् भने सहयोगी निर्माता नबिन घिमिरे र विवेक थापा हुन् । मोती कार्कीले सिर्जनात्मक निर्माता (क्रिएटिभ प्रोड्युसर) को भूमिका सम्हालेका छन् ।
फिल्ममा संगीत कालीप्रसाद बाँस्कोटा, एस.डी. योगी, जयन जे वैवा, बृजेश श्रेष्ठ र जोन चाम्लिङ राईले दिएका छन् । पटकथा विश्वास टिमशिनले तयार गरेका हुन् भने साईग्रेस पोखरेल सिर्जनात्मक लेखकका रूपमा रहेका छन् । राख्श्या थापा कास्टिङ निर्देशक, मरकस तामाङ पोशाक डिजाइनर, विजय बश्याल प्रचार–प्रसार डिजाइनर, बैकुण्ठराज पराजुली सञ्चार सल्लाहकार, साहिल खान टिजर तथा ट्रेलर निर्देशक र अभिनाश मान नपित दृश्य प्रभाव कलाकारका रूपमा संलग्न छन् । साथै, कपिल पराजुली रंग संयोजक, शैलेश श्रेष्ठ ध्वनि डिजाइनर, उत्तम न्यौपाने ध्वनि पुनःमिश्रणकर्ता, रोमन बज्राचार्य पृष्ठभूमि संगीतकार, किरन थापा नृत्य निर्देशक, निमेश श्रेष्ठ सम्पादक र दूलेप रेग्मी छायांकन निर्देशक रहेका छन् ।
यो फिल्मलाई ऋचा इन्टरटेन्मेन्ट, एफ.डी. कम्पनी र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् । गीत सार्वजनिक भएसँगै दर्शकमाझ फिल्मप्रति उत्साह थपिएको छ र दशैंपछिको प्रदर्शनलाई लिएर निर्माण टोली निकै आशावादी देखिएको छ ।