दशैंको फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘हरिबहादुरको जुत्ता’ले सकारात्मक प्रतिक्रिया पाउँदै दर्शकमाझ लोकप्रियता बढाइरहेको छ। सुरुवातमा कम शो पाएको यो फिल्म अहिले दर्शकको मागअनुसार शो संख्या विस्तार गर्दै गएको छ।

‘हरिबहादुर’ महसंचारद्वारा टेलिभिजनमा प्रस्तुत चरित्रहरूमध्ये हरिबहादुरलाई आधार बनाएर तयार गरिएको यो फिल्मलाई ‘हरिबहादुर’ श्रृंखलाको स्पिनअफ मान्न सकिन्छ। फिल्ममा शीर्ष भूमिकामा हरिवंश आचार्य स्वयं देखिएका छन्।

फिल्म रिलिज भएपछि हरिवंश आचार्य हल-हल पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन्। ९०–९५ वर्षका हजुरबाबुआमादेखि ५–६ वर्षका बालबालिकासम्मका दर्शक हलसम्म पुगेका छन् भने परिवारका २५ जनासम्म संयुक्त रूपमा फिल्म हेर्न आएको दृश्य समेत देखिएको छ।

हरिवंश आचार्यका अनुसार करिब १५–१६ वर्षअघि सिर्जना गरिएको यो पात्र अहिले पनि दर्शकलाई उत्तिकै प्रिय लागिरहेको छ। उनले भने, “हामीले प्रचार शान्त ढंगले गरेका थियौं, तर दर्शकको मायाले चलचित्र हलमा ठूलो उत्साह देखाएको छ।”

फिल्ममा टेलिभिजनमा देखिने हरिबहादुरभन्दा केही भिन्नता देखाइएको छ। हरिवंश भन्छन्, “टेलिभिजनमा हरिबहादुरले मान्छेलाई दुःख दिने पात्र थियो, तर चलचित्रमा हरिबहादुर सज्जन बन्न खोजेको छ। बालबालिकासमेत हलमा हरिबहादुर हेर्न आउनु खुसीको कुरा हो।”

उनका अनुसार, फिल्मको कथा वर्षौंअघिनै लेखिएको भए पनि अहिलेको समयसँग सान्दर्भिक बनेको छ। उनले भने, “हामीले युवाको नेतृत्व आउनुपर्छ भन्ने कथा लेखेका थियौं। संयोगवश अहिलेको सामाजिक माहोल र माग पनि यहीसँग मेल खाएको छ।”

दीपेन्द्र के. खनाल निर्देशित यस फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।