सस्पेन्स–थ्रिलर फिल्म ‘अभिमन्यु’ को प्रदर्शन मिति फेरि पछाडि सारिएको छ। सुरुवाती रूपमा साउन २३, त्यसपछि भदौ २७ र असोज २४ गते प्रदर्शन हुने घोषणा भए पनि अब यो फिल्म कात्तिक २१ गतेदेखि मात्र हलमा आउने भएको हो। हालको वर्षाले मुलुकभर जनजीवन प्रभावित पारेको कारण देखाउँदै प्रदर्शन ढिलो गरिएको निर्माण टिमले जनाएको छ।
उक्त दिनबाटै ‘जारी २’ र ‘मन बिनाको धन’ पनि रिलिज हुँदैछन्। तर ‘अभिमन्यु’ भने यसपटक नसरिने निर्माता विनोद पौडेलले प्रष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्– “दर्शकलाई सहज र सुरक्षित वातावरणमा फिल्म देखाउन सकियोस् भन्ने उद्देश्यले मिति सारिएको हो। प्रतिकूल अवस्थामा पनि दर्शकको साथको अपेक्षा गरेका छौं।” पौडेल, सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता पनि हुन्।
नेपाली र हिन्दी दुवै भाषामा बनेको यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ र शिशिर वाङ्देललगायतको अभिनय छ। सुशान्त गौतम निर्देशित फिल्मलाई सेभेन सिज सिनेमाको ब्यानर मा तयार गरिएको हो। कथामा प्रलोभनको चक्रव्यूहमा फसेर त्यहाँबाट बाहिर निस्कन खोज्ने पात्रको संघर्ष देखाइनेछ।
फिल्मको लेखन मुकेश खनालले गरेका हुन् भने निर्माण विनोद पौडेल र गुञ्जन गिरीले गरेका हुन्। सह-निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठको नाम छ। प्राविधिक पक्षमा शरद महतो (डिओपी), मनोज श्रेष्ठ (VFX), जुनिम गहतराज (रंग संयोजन) र मदन घिमिरे (सम्पादन) जिम्मेवार रहेका छन्।