फूलपाती (१३ असोज) बाट प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’ ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको पहिलो दिनदेखि नै देशभर उपलब्ध शोहरूमा ५० प्रतिशतभन्दा माथि अकुपेन्सी कायम भएको छ। दर्शकले फिल्मको कथा र कलाकारहरूको अभिनयलाई उत्साहजनक प्रतिक्रिया दिएका छन्।
फिल्म प्रदर्शन हुनुअघि यसको शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’ मा भिडियो प्रतियोगिता आयोजना गरिएको थियो। यसमा एक हजारभन्दा बढी सहभागीले भिडियो बनाएका थिए। बुटवलका सुरज सिंजाली मगर र श्री डान्स एकेडेमीका बालिकाको भिडियो उत्कृष्ट ठहरिएको थियो। सोमबार प्रतियोगिताका निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेताको नाम घोषणा गरेका हुन्।
विजेतालाई पाँच लाख नगद पुरस्कार दिने घोषणा गरिएकोमा अब दुई समूहलाई जनही साढे २ लाख पुरस्कार प्रदान गरिने भएको छ। निर्माता रोहित अधिकारीले भने, “यसपटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूको प्रतिस्पर्धा कडा भयो। यसैले निर्णायकले दुवैलाई विजेता घोषणा गर्नुभएको छ। अब हामी दुवै समूहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौं।”
मिलन तामाङको निर्देशनमा तयार भएको फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मले तामाङ संस्कृतिलाई मुख्य विषय बनाएर माइतीघर र चेलीको सम्बन्धको कथा प्रस्तुत गरेको छ।