दयाहाङ राई, विजय बराल र समृद्धि अर्यालको प्रमुख अभिनयमा बनेको फिल्म **‘वरिष्ठ बलराम’**को ट्रेलर सार्वजनिक गरिएको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको करिब चार मिनेट लामो ट्रेलरले कथाको मूल द्वन्द्व र पात्रबीचको संघर्षलाई देखाएको छ।

फिल्मले खोलाको ढुंगा र बालुवाको स्वामित्वका कारण उत्पन्न विवादलाई केन्द्रविन्दुमा राखेको छ। ट्रेलरमा दयाहाङ राई र विजय बरालबीचको टकराव मुख्य आकर्षण बनेको छ—दयाहाङ ठेकदारको भूमिकामा देखिएका छन् भने विजय ट्याक्टर चालकको रूपमा प्रस्तुत छन्। प्रेम, भावना र समाजिक यथार्थका दृश्यहरूले ट्रेलरलाई अझ प्रभावशाली बनाएका छन्।

‘न्याउली वनैमा’ गीतले पहिले नै दर्शकमाझ चर्चा कमाइसकेको यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। कथा र सम्पादन पनि पौडेलकै रहेको यो फिल्ममा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी र रामबाबु रेग्मी लगायत कलाकारको अभिनय समावेश छ। पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।

वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे रहेका छन्। फिल्मको छायांकन मनकृष्ण महर्जन, संगीत प्रशान्त शिवाकोटी, द्वन्द्व निर्देशन सम्राट बस्नेत र ब्याकग्राउन्ड स्कोर रोहित शाक्य तथा शैलेस श्रेष्ठले गरेका छन्।