तिहारको माहोलसँगै नेपाली फिल्म बजारमा नयाँ रंग भर्दै ‘जेरी अन टप’ रिलिजको तयारीमा छ। असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलर बिहीबार काठमाडौंमा भव्य कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। करिब चार मिनेट लामो ट्रेलरले सगरमाथा आरोहणको रोमाञ्चक यात्रा र त्रिकोणात्मक प्रेमकथाको भावनात्मक उचाइलाई एकसाथ समेट्दै दर्शकमा उत्सुकता जगाएको छ।

फिल्ममा अनमोल केसीले जेरीको भूमिका निभाएका छन् — जसले सानैदेखि आफ्नो पितालाई हरेक खेलमा हराउँदै आएका कारण सगरमाथा चढेर आफूलाई प्रमाणित गर्ने सपना देख्छ। आरोहणको यात्रामा उनीले सामना गर्ने कठिनाइ, जोखिम र आँचल शर्मा तथा जसिता गुरुङसँगको प्रेममा आउने भावनात्मक आरोह–अवरोह ट्रेलरको केन्द्रमा देखिन्छ।

फिल्ममा भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका चर्चित कलाकारहरूको पनि सशक्त उपस्थिति देखिन्छ।

निर्देशन सुयोग गुरुङले गरेका हुन् भने निर्माणमा सरोज न्यौपानेले जिम्मेवारी सम्हालेका छन्। उनी यसअघि ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लूज’ जस्ता फिल्ममार्फत चर्चामा आएका थिए। निर्माण टिममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी सह–निर्माता छन् भने अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

अनन्या फिल्म्सको ब्यानरमा बनेको यो परियोजनामा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत समावेश छ। पटकथा विश्वास तिम्सिना, कथा हेमराज बिसी, द्वन्द्व निर्देशन सम्राट बस्नेत र राजु तामाङ, तथा नृत्य संयोजन किरण थापाले गरेका छन्।

उच्च स्तरको मेकिङ र प्रेरणादायी कथा बुनोटका कारण ‘जेरी अन टप’ तिहारको पारिवारिक मनोरञ्जनमा नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ।