कार्तिक १४ गतेबाट रिलिज हुने पारिवारिक कथानक चलचित्र ‘परान’ले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै एक लाख पुरस्कार दिने भएको छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्बिर पोस्ट गर्दै क्याप्सनमा 'मेरो परान' लेखेर आफ्नो कुराहरू लेख्न पाउनेछन् । साथै उक्त पोस्ट चलचित्रको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।
निर्माणपक्षले सो तस्बिरमा आफ्नो परानका रूपमा बुबा, आमा वा बाबुआमा दुवै वा श्रीमान्, श्रीमती या प्रेमी प्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनी मध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन् । त्यसरी पोस्ट गर्ने मध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपैंया जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले चलचित्रको विशेष शोको टिकट पाउने छन् ।
यसै गरी ‘परान’ चलचित्रको प्रचारमा केही स्वयंसवकहरु चलचित्रको क्यूआरसहित शहरका विभिन्न भागमा घुम्ने र शो क्रममा क्यूआर स्क्यान गरी ‘परान’ चलचित्रको ट्रेलर वा गीत सेयर गर्नेलाई चलचित्रका कलाकारसँगै फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणा समेत गरेको छ । ५० जना दर्शकलाई यो अवसर दिइनेछ । यस दुवै प्रतियोगितामा रिलिजको एक साता पछिसम्म अर्थात् कार्तिक २० गतेसम्म सहभागिता जनाउन पाइनेछ ।
चलचित्रले एक बुबा र छोराको कथालाई प्रस्तुत गरेको छ । चलचित्रको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर साहले अभिनय गरेका छन् । सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो चलचित्र हो।
चलचित्रमा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय रहेको छ ।