कार्तिक २१ गते रिलिज हुने चलचित्र 'जारी :२ सङ् अफ च्याब्रुङ'काे ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ । जारी :२ ले छोरीको जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई चलचित्रको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

दया र मिरुनाका अलावा विजय बरालको वैभाविक सेरोफेरोको कथाले पनि दर्शकलाई यो चलचित्र हेर्न प्रेरित गर्नेछ। ट्रेलरमा उनको पाटोले सिनेमामा डार्क ह्युमर देखिन्छ ।

तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ। चलचित्रमा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र यो वर्ष सर्बाधिक व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ।

‘जारी’ चलचित्र २०८० सालको ब्लकबस्टर चलचित्र हो। सो वर्ष चलचित्रले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो चलचित्रलाई प्रतिक्षित चलचित्रको सूचीमा राखिएको छ।
चलचित्रले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ।