चलचित्र ‘वरिष्ठ बलराम’ले पाँच दिनमा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रस कलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए ।

भावनात्मक सम्बन्ध र स्थानीय स्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले जानकारी दिए । “रगतको मात्रै होइन भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सिनेमाको सन्देश दर्शकले निकै धेरै मन पराइरहनु भएको छ,” निर्माता तामाङले भने, 

दयाहाङ राई र विजय बराललाई फरक तरिकाले प्रस्तुत गरेको पनि दर्शकले खुलेर तारिफ गरिरहेको उनले बताए ।  

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् ।