चलचित्र ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरिएको छ। चलचित्रको काठमाडौँ स्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गरिएको थियो ।
ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बन्ने यो चलचित्रको छायाङ्कन आगामी नोभेम्बरदेखि सुरु हुनेछ।
हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित यस फिल्ममा परीक्षा लिम्बु, कर्मा, सुनिल थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायत कलाकारको अभिनय रहनेछ। चलचित्रले जीवन, साहस र आशाको कथा प्रस्तुत गर्नेछ।
सन् १९९२ को पृष्ठभूमिमा तयार गरिएको चलचित्रमा एक गाउँकी युवतीले यार्सागुम्बा सङ्कलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नुपरेपछि सुरु हुने सङ्घर्षको कथा पर्दामा प्रस्तुत गर्नेछ। यार्सागुम्बालाई औषधीय मूल्यका कारण ‘हिमालयन गोल्ड’का रूपमा चिनिन्छ। चलचित्रमा हिमालय क्षेत्रलाई केवल दृश्य पृष्ठभूमि नभई एक जीवित पात्रका रूपमा चित्रण गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा लेखन र निर्देशन धिराज राजवंशीको रहेको छ।