बहुप्रतिक्षित चलचित्र ‘जारी २’को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । चलचित्रको सार्वजनिक ट्रेलरले निकै राम्रो प्रतिक्रिया सँगै २ दिनमा १० लाख बढी भ्युज पाएको हो ।
ट्रेलरको कमेन्टबक्समा अधिकांशले चलचित्र हेर्न प्रतीक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैँ भएका प्रतिक्रिया दिएका छन् । त्यससँगै दयाहाङ र मिरुनाको जोडी पनि निकै सुहाएको र विजय बरालले विशेष उत्साह थपेको प्रतिक्रिया पनि कमेन्टबक्समा हेर्न सकिन्छ ।
चलचित्रको ट्रेलरले लिम्बु समुदायको आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
चलचित्रमा दयाहाङ, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।