बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको ब्यानरबाट निर्माण भएको दोस्रो भोजपुरी चलचित्र ‘काशी अमरनाथ’मा नेपाली नायिका जेनिशा केसीले आइटम नृत्य गरेकी छिन् । प्रियंकाको पर्पल पेबल पिक्चर्सले रोज क्वार्ज इन्टरटेन्मेन्टसँग सहकार्य गरेर भोजपुरी चलचित्र निर्माण गरेको हो । यसअघि उक्त ब्यानरबाट नेपाली भाषाको चलचित्र ‘पाहुना’ निर्माण भइसकेको छ ।
भोजपुरी चलचित्रमा भने नेपाली केही चलचित्रमा अभिनय गरिसकेकी नायिका जेनिशालाई देख्न सकिन्छ । हालै सार्वजनिक भएको चलचित्रको गीतमा जेनिशाको साथमा भोजपुरी स्टार रवि किसान फिचरिङ छन् । बुझिए अनुसार चलचित्रमा जेनिशाको महत्त्वपूर्ण भूमिका रहेको छ । सन्तोष मिश्राले निर्देशन रहेको चलचित्रमा जेनिशा र रविको साथमा दिनेश लाल यादव र आम्रपाली दुबेको अभिनय रहेको छ । चलचित्रमा प्रियंका चोपडा, सिद्धार्थ चोपडा र डा. नेहा शन्दिल्याको लगानी रहेको छ ।