बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत अभिनेता अनुप विक्रम शाहीले अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा सशक्त उपस्थिति जनाउने तयारी गरेका छन् । फिल्ममा उनको भूमिकालाई लिएर सुरुमा विभिन्न अड्कलबाजी र आलोचना भए पनि शनिबार सार्वजनिक भएको ‘मातृभूमि’ गीतले ती सबै भ्रमलाई चिर्दै अनुपको प्रभावशाली अभिनय उजागर गरेको छ ।
अरिजीत सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वरले सजिएको उक्त गीतको भिडियोमा अनुपलाई विशेष महत्वका साथ प्रस्तुत गरिएको छ । गीतमा उनी चिनियाँ सेनाको पात्रमा देखिएका छन् । एक महत्त्वपूर्ण दृश्यमा अनुप र सलमान खान आमनेसामने देखिन्छन्, जहाँ अनुप हात जोडेर निहुरिएको र सलमानले नमस्कार फर्काएको दृश्यले दर्शकको ध्यान खिचेको छ । यस दृश्यलाई फिल्मकै निर्णायक क्षणमध्ये एक मानिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार फिल्ममा सलमान र अनुपबीच करिब १३ मिनेट लामो दमदार एक्सन दृश्य समावेश गरिएको छ । सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको वास्तविक झडपमा आधारित कथावस्तुमा अनुपले चुनौतीपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले लद्दाख र मुम्बईमा गरी करिब २५ दिनसम्म छायांकन गरेका थिए । रोचक कुरा के छ भने, अनुपलाई यस फिल्मका लागि स्वयं सलमान खानले छनोट गरेको बताइन्छ ।
आगामी १७ अप्रिल (४ बैशाख) मा रिलिज हुने ‘ब्याटल अफ गलवान’मा सलमान खानले भारतीय सेनाका वीर अधिकृत कर्नेल सन्तोष बाबुको भूमिका निभाएका छन् । यो फिल्म कर्नेल सन्तोषको जीवनकथामा आधारित बायोपिक हो । अपुर्व लाखियाको निर्देशनमा बनेको यस फिल्ममा चित्रांगदा सिंह पनि प्रमुख भूमिकामा देखिनेछिन् । साथै, स्वर्गीय गायक प्रशान्त तामाङको अभिनय पनि फिल्ममा समावेश छ ।
अनुप विक्रम शाहीका लागि ‘ब्याटल अफ गलवान’ केवल बलिउड डेब्यु मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अभिनय क्षमताको सशक्त प्रमाण बन्ने अपेक्षा गरिएको छ ।