चलचित्र ‘हामी तीन भाइ’ का लागि तयार गरिएको नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली…’ को छायाङ्कन भक्तपुरको गुण्डु क्षेत्रमा गरिएको छ । 

प्रसिद्धी सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको उक्त गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतका शब्द सुवल मणि सापकोटाले लेखेका हुन् भने सङ्गीत पनि साप शक्तिकै रहेको छ। यस गीतको सङ्गीत संयोजन (एरेन्ज) महाराज थापाले गरेका छन्।
ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउने शैलीमा तयार गरिएको यो गीतलाई रङ्गिन र जीवन्त बनाउन अहिले गुण्डुमा छायाङ्कन भइरहेको निर्माण पक्षले जनाएको छ।
निर्देशक मधुसुधन भट्टराईको निर्देशनमा तयार भइरहेको चलचित्र ‘हामी तीन भाइ’ कमेडी तथा सामाजिक कथामा आधारित छ। चलचित्रमा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा छन्। उनीहरूले गाउँका मिल्ने तीन साथीको चरित्र निभाएका छन्।

चलचित्र यही चैत्र १३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ।