काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो । चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ ।

चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गर्दैछन् । नेपाली चलचित्र क्षेत्रमा सफल पटकथा लेखकको पहिचान बनाएका सुशील पौडेलले यसको कथा, पटकथा तथा संवाद लेखेका हुन् । पौडेल यसअघि समीक्षक र दर्शक दुवैले रुचाएको चर्चित चलचित्र ‘प्रसाद’का लेखक हुन्, जसका कारण ‘पाँच पाण्डव’को कथावस्तु पनि बलियो हुने अपेक्षा गरिएको छ ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।