टिकटकमा लोकप्रिय टिकटकर आयुष सिंह ठकुरी अब नेपाली चलचित्रको पर्दामा पनि देखिदैछन् । माइकल चन्दको लेखन तथा  निर्देशनमा तयार भएको चलचित्र ‘राम नाम सत्य’बाट आयुषले डेब्यू गर्दैछन् । चलचित्र चैत्रको २७ गते शुक्रबारबाट देशभरका हलमा रिलिजमा आउँदैछ ।
आयुष यो चलचित्रलाई लिएर निकै उत्साहित रहेको ससुनाए । उनले भने–‘यो फिल्मको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ । मलाई धेरै फिल्मको अफर नआएको होइन । तर, राम नाम सत्यको कथाले तान्यो र काम गर्न तयार भएँ ।’
चलचित्र भित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने आयुषको तर्क छ । आयुष भन्छन्–‘मैले बोलेका एउटा संवाद ट्रेलरमा समावेश छ । यो ट्रेलर आउँदा मेरो परिवार र आफन्तले नै मेरो बोली चिन्नु भएन । पछि मैले नै यो संवाद मेरो हो भनेर भन्दा धेरै छक्क पर्नु भएको थियो । फिल्मका लागि निकै मिहिनेत गरेको छु ।’
उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार भएको यो चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ । नयाँ वर्षमा सोलो रिलिज हुन लागेको चलचित्रले बम्पर ओपनिङ गर्ने विश्लेषण वितरकको छ ।