असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ले गत बिहीबार सफलताको साथमा आफ्नो ५१ औँ दिन मनाइसकेको छ । गत वर्ष रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल रहेको ‘छक्का पञ्जा २’ सुरुवाती दिनबाट नै विवादित बन्दै आइरहेको थियो । चलचित्रको पहिलो गीत ‘नाइलनको साडी..’सार्वजिनक हुने समयमा चोरीको आरोप समेत लागेको थियो । गीत विवादित बनेपनि गीतमा नृत्य गरेका कलाकारको चर्चा भने बढिनै भएको थियो ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का र स्वपुरुष ढकाल फिचरिङ छन् । चलचित्रको ५१ औँ दिनको सेलिब्रेशन कार्यक्रममा सिनेपाटीसँग कुरा गर्दै केदार घिमिरे उर्फ माग्ने बुढाले ‘नाइलनको साडी’ले गिनिज बुकमा नाम लेखाउन लागेको खुलाएका थिए । कसरी भनेर साधिएको प्रश्नमा उनी रमाइलो शैलीमा भन्छन् ‘अरू गीतमा नाच्दा कलाकार थाक्छन् तर यो गीतमा हामी कलाकारलाई नचाउदा नृत्य निर्देशक कविराज गहतराजको पसिना आएको थियो । अनि भएन त अचम्म ।’