चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ । परिवारको इच्छा पूरा गरिदिन प्रयास गरे पनि रुचि नहुँदा असफल भएको कथा प्रस्तुत गर्दै ट्रेलरले बालमनोविज्ञानलाई देखाएको छ ।

गरिब भएकै कारण कसरी विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित हुन्छन् । र, पहिलो हुनेको मात्रै हुने इज्जतलाई ट्रेलरमा देखाइएको छ । पुरानै सोचमा जकेडिएको समाज र त्यसले गरिबलाई दिने दुःख तथा समाज पारिवारिक र सामाजिक द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो चलचित्रको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।