असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र 'झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक गरिएको छ। चलचित्रको ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
करिब ७ मिनेट लामो गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र जेठानी र देउरानीबीचको झगडालाई प्रस्तुत गरिएको छ। गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्।
सार्वजनिक भिडियोमा फिल्मका मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्मालाई एकअर्काविरुद्ध झगडा गरिरहेको देख्न सकिन्छ। चलचित्रमा केकीले जेठानी र आँचलले देउरानीको भूमिका निर्वाह गरेका छन्। गीतमा समावेश संवाद तथा लाइनहरू सामाजिक सञ्जालमा चर्चित बन्ने देखिएको छ।
गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। अभिनेत्री केकी अधिकारी र आँचल शर्मा पनि गीतले दर्शकबाट लोभलाग्दो साथ पाउनेमा विश्वस्त देखिएका छन्।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्।
चलचित्रमा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ।
यसअघि सार्वजनिक गरिएको चलचित्रको टिजरले दर्शकको ध्यान खिचिसकेको छ।