हरितालिका तीजको अवसर पारेर महिला हिंसाविरुद्ध सशक्त सन्देश बोकेको नयाँ तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक गरिएको छ। गीतले मनोरञ्जनसँगै समाजमा बढ्दो महिला हिंसा, बलात्कार तथा छोरीहरूको सुरक्षाको विषयलाई गम्भीर रूपमा उठान गरेको छ।

सलिना बिके, समिरा थपलिया र श्रेया राईको स्वर रहेको गीतमा फिरोज बस्नेतको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्जमेन्ट दीक्षित पौडेलले गरेका हुन् भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

गीतको भिडियोमार्फत समाजमा महिलामाथि हुने हिंसा र बलात्कारका घटनाले छोरीहरूको जीवनमा पार्ने गहिरो प्रभावलाई प्रस्तुत गरिएको छ। साथै, भिडियोले ‘छोरीहरू कहाँ सुरक्षित छन् ?’ भन्ने गम्भीर प्रश्नसमेत दर्शकमाझ उठाएको छ।

 

भिडियोको सुरुवातमा तीन चेली खुसी हुँदै नाचिरहेको दृश्य देखाइन्छ। उनीहरूको सामान्य र खुसी जीवनमा घट्ने अप्रिय घटनालाई भने भिडियोको अन्त्यतिर मार्मिक ढंगले प्रस्तुत गरिएको छ। यसमार्फत तीजको उत्सव र मनोरञ्जनसँगै सामाजिक विकृति तथा महिला सुरक्षाबारे सचेतना फैलाउने प्रयास गरिएको छ।

अन्जान मोक्तानको कोरियोग्राफी रहेको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन्। पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेका छन् भने भिडियोको प्रोजेक्ट म्यानेजर प्रवेश खत्री रहेका छन्।

‘गाउँ घरमा’ले तीज गीतको परम्परागत मनोरञ्जनात्मक शैलीसँगै समसामयिक सामाजिक मुद्दालाई जोड्दै महिला तथा बालिकाको सुरक्षाका विषयमा समाजलाई सोच्न बाध्य बनाउने प्रयास गरेको छ।