नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’मा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भएका छन्।
महेशको प्रवेशसँगै चलचित्रको मुख्य कलाकारको टोली थप बलियो बनेको छ। यसअघि चलचित्रका लागि अभिनेत्री बिपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
सुजिता चौलागाईंले निर्माण गर्ने चलचित्रमा छत्रबहादुर खड्का सहनिर्माता तथा धर्मेन्द्र पन्त कार्यकारी निर्माता रहेका छन्। चलचित्रको संगीतमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्नेछन्। गीतका शब्द दीपक शर्मा र निर्देशक नवीन पन्तले लेखेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘बाकस’ले वैदेशिक रोजगारीसँग जोडिएको सामाजिक आयामको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। चलचित्रको पूर्वतयारी तीव्र रूपमा भइरहेको छ भने आगामी दशैँलगत्तै छायांकनमा जाने तयारी गरिएको छ।