नीता ढुङ्गानाको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘पार्वती’ तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाउँदै प्रदर्शन भइरहेको छ। शनिबार वरिष्ठ कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वले चलचित्र हेरेपछि यसको कथावस्तु र विशेषगरी नीता ढुङ्गानाको अभिनयको प्रशंसा गरेका छन्।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र हेरेपछि नीता ढुङ्गानाको अभिनयको खुलेर प्रशंसा गरे। अटिजम भएकी युवतीको चरित्र निर्वाह गरेकी नीतालाई पर्दामा हेर्दा आफूले वास्तविक नीता र पात्रबीचको भिन्नता नै छुट्याउन नसकेको उनको भनाइ थियो।
‘नीता ढुङ्गानाले यस्तो अभिनय गर्लिन् भनेर अन्दाज नै गरेको थिइनँ। सुरुदेखि अन्तिमसम्म एक्टिङमा होल्ड गर्न सकेकी छन्,’ श्रेष्ठले भने।
उनले चलचित्रले अटिजम भएका व्यक्तिको भावना र संवेदनालाई बुझ्नसमेत दर्शकलाई प्रेरित गरेको बताए। ‘उनीहरूको पनि दिल हुन्छ, उनीहरूको पनि मन हुन्छ भन्ने कुरा यो चलचित्रले सोच्न बाध्य बनाएको छ,’ उनले भने। श्रेष्ठले ‘पार्वती’ हेर्ने दर्शकले एउटा किताब पढेभन्दा बढी ज्ञान र शिक्षा प्राप्त गर्ने धारणा पनि व्यक्त गरे।
मदनकृष्णसँगै चलचित्र हेर्न पुगेकी उनकी बुहारी रिङ्कुले पनि सबैभन्दा पहिले नीता ढुङ्गानालाई बधाई दिँदै चलचित्रको प्रशंसा गरिन्। उनले समाजमा फरक क्षमता भएका व्यक्तिको परिवारले भोग्ने समस्या र सामाजिक व्यवहारलाई चलचित्रले संवेदनशील रूपमा प्रस्तुत गरेको बताइन्।
‘सबैभन्दा पहिला बधाई नीतालाई। एकदमै गाह्रो विषय, समाजमा घटिरहने चिजहरू चलचित्रको पर्दामा थियो। फरक क्षमता भएको घरमा घटिरहने घटना, जस्तै आमा–बुबा साथमा भए पनि समाजले कस्तो भूमिका खेल्दो रहेछ भन्ने कुराले मलाई एकदमै टच गरेको थियो,’ रिङ्कुले भनिन्।
संविधानविद् तथा वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यले पनि चलचित्र हेरेपछि नीताको अभिनयको विशेष प्रशंसा गरे। चलचित्रबाट बाहिरिँदा भावुक देखिएका आचार्यले नीताको अभिनयलाई आफूले देखेकामध्ये उत्कृष्टमध्ये एक भएको बताए।
‘यो चलचित्रमा नीता ढुङ्गानाले जुन अभिनय गर्नुभएको छ, यो लेभलको एक्टिङ मैले देखेकै छैन,’ आचार्यले भने। उनका अनुसार चलचित्रको विषयवस्तु र सन्देश निकै महत्वपूर्ण छ। संवेदनशील विषयलाई चलचित्रको कथाका रूपमा रोज्नु निर्माण टिमका लागि जोखिमपूर्ण भए पनि त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको उनले बताए।
चर्चित हास्यकलाकार किरण केसी ‘रातामकै’ले पनि चलचित्रको कथावस्तु र निर्देशन पक्ष बलियो रहेको प्रतिक्रिया दिए। चलचित्र हेर्दा भावुक बनेका उनले नीताले अभिनयसँगै निर्देशनमा पनि राम्रो काम गरेको बताए।
‘यो चलचित्रको कथावस्तु नै एकदमै बलियो छ। साथै निर्देशन पक्ष पनि एकदमै बलियो लाग्यो। नीताले आफैंलाई निर्देशन गरेर त्यो पात्रको ट्र्याकमा दर्शकलाई समातेर सेकेन्ड–सेकेन्डमा रुवाउन सक्ने क्षमता देखाएकी छन्,’ केसीले भने।
उनले चलचित्रको प्रशंसा गर्दै आफ्नो हातमा शक्ति भएको भए ‘पार्वती’लाई अन्तर्राष्ट्रियस्तरको कान्स अवार्डमा पठाउन सक्ने बताए।
चलचित्र हेर्न पुगेका अभिनेता जीतु नेपाल, सञ्चारकर्मी प्रकाश सुवेदी, नरेश भट्टराईलगायतले पनि ‘पार्वती’को कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका छन्।
भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘पार्वती’मा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको चलचित्रमा अटिजम भएकी छोरीप्रति समाजको दृष्टिकोण तथा उनका बुवाआमाले भोग्नुपर्ने सामाजिक र पारिवारिक चुनौतीलाई कथाको मुख्य आधार बनाइएको छ।
नीता ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ।
चलचित्रको प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्। ‘पार्वती’ले प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा दर्शकसँगै विभिन्न क्षेत्रका व्यक्तित्वबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।