असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा दाजुभाइबीचको सम्बन्ध, देउरानी–जेठानीको झगडा, आमाको ममता, सन्तानप्रतिको प्रेम तथा आमा खोज्ने भावनात्मक कथालाई प्रस्तुत गरिएको छ।
करिब तीन मिनेट लामो ट्रेलरले पारिवारिक सम्बन्धभित्र उत्पन्न हुने द्वन्द्व र भावनात्मक उतारचढावलाई केन्द्रमा राखेको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता थप बढ्ने देखिएको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
चलचित्रमा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ।
यसअघि सार्वजनिक चलचित्रको टिजरले दर्शकको ध्यान तानिसकेको छ। चलचित्रमा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीत पनि युट्युब तथा टिकटकमा चर्चामा छ। गीतले छोटो समयमै ३७ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको निर्माण पक्षले जनाएको छ।
यसको अघिल्लो श्रृंखला ‘झिंगे दाउ’ले पनि युट्युबमा ८० लाखभन्दा बढी भ्युज पाइसकेको छ। अघिल्लो चलचित्रलाई दर्शकले दिएको सकारात्मक प्रतिक्रियाका कारण ‘झिंगे दाउ २’प्रति समेत दर्शकको चासो बढेको निर्माण पक्षको दाबी छ।
पारिवारिक कथा, सम्बन्धभित्रको द्वन्द्व र भावनात्मक पक्षलाई समेटिएको ‘झिंगे दाउ २’को ट्रेलरले चलचित्रलाई हलसम्म पुर्याउन थप उत्सुकता सिर्जना गर्ने अपेक्षा गरिएको छ।