जापनिज निर्देशकले बनाएको चलचित्र ‘माई लभ’को स्याड भर्सन गीत सार्वजनिक भएको छ । २०७२ सालमा गएको भूकम्पको कथालाई समेटिएको गीत शनिवार युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा भूकम्प पछिको अस्तव्यस्त र धरहरा ढलेको चित्रण गरिएको छ । गीतमा कलाकार गणेश लामा फिचरिङ गरिएको छ । ‘ढल्यो ढल्यो’ बोलको गीतमा  राज सागरको स्वर र सङ्गीत रहेको छ । शुष्मा देवकोटाको शब्द रहेको गीतलाई नारायण जिसीले खिचेका हुन् । चलचित्र यही मङ्सिर २९ गतेदेखि काठमाडौँ उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।

 

जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरू चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरू युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको अभिनय रहेको छ । चलचित्रमा भूकम्प पछिको समाजलाई चित्रण गरिएको निर्माण पक्षले बताएको छ ।