चलचित्र क्षेत्रमा बेलाबखत विभिन्न कारणले गसिप बजार गर्माएको नै हुन्छ । यति बेला सिन नगरीमा अभिनेत्री ऋचा शर्माको चर्चा बढ्दो छ । आइतबार रातीबाट उनी विरुद्ध चलचित्र छक्का पञ्जाको टिम आइरिएको थियो । उनलाई अंकित गर्दै सम्पूर्ण निर्माण टिमले एउटै स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरेका थियो । स्टाटस यस्तो छ :-

 ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाई मूर्ख भन्नु भएछ । प्रिय नायिका ज्यू दर्शकलाई मुर्ख भन्नु भएकोले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन् । Get Well Soon !’

खासमा केही समय अघि राजधानीमा आयोजना भएको एकादेश फिल्म फेस्टिबल अन्तर्गत चलचित्रमा महिलाको भूमिका नामक गोष्ठीमा अभिनेत्री ऋचा शर्माले चलचित्र छक्का पञ्जाले महिला  शोषण गरेको बताएकी थिइन् । चलचित्र हेरिरहन्दा महिलालाई थप्पड हानेको देख्दा आफूलाई आफू मूर्ख लागेको बताएकी थिइन् । कार्यक्रम भएको हप्ता दिन बितेपछि यो विषयले चर्चा पाएको हो । सामाजिक सञ्जालमा उनको बारेमा टिकाटिप्पणी भएपछि ऋचाले आफ्नो फेसबुक वालमा स्पष्टीकरण दिदैँ यस्तो स्टाटस लेखेकी छिन् । 

म एक कलाकार,निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा बिचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ । मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्। सिनेमामा आफूलाई मन लागेको देखाउँन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउँछन्, तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन्, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन्, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् । 
म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिँसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्र्तक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइनँ । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ। सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरुन्। मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ । 
र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो । 
सर्जक सधैँ महान हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ । 
फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउँनु पर्छ । 
र, कहिलेकाही आफूलाई सच्चाउँनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उस्को जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु,आफ्नो कमजोरी अङाल्छु, सच्चाउछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरह्न्छु।
धन्यबाद ।