कलाकार बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘मट्टिमाला’ को छायांकन सकिएको छ । तिन महिना लगाएर काठमाडौं, काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका ठाउँहरुमा छायांकन गरेको चलचित्र टीमले सिन्धुली गढीमा चलचित्रको एक गीतको सुटिङ गर्दै छायांकनको सम्पुर्ण काम सकेको चलचित्रका निर्देशक टेके पौरखी राईले जानकारी दिएका छन् । चलचित्रको ७० प्रतिशत छायांकन राजधानी र बाँकी राजधानी बाहिर भएको निर्देशक राईले बताए ।
‘मट्टिमाला’को कथाले गाउँ र शहरको जीवनयापनमा आउने फरक र युद्धलाई बोलेको छ । चलचित्रमा बुद्धि र रजनीको साथमा चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्य लगायतको अभिनय रहेको छ ।
चलचित्रको कथा निर्देशक राई स्वयमले लेखेका हुन् भने चलचित्रमा पृथ्वी राईको लगानी छ । सुमन राईको संगीत रहेको यो चलचित्रको रोश भट्टाई, जानु काम्बाङ लिङदेन, साङ्लोन तामाङ गीतकार हुन् । चलचित्रका गीतमा संगीता थापा, सुन्दर लामा, अमृता लिम्बु, बबिना किरातीको स्वर रहेको छ ।