पछिल्लो समय चलचित्र प्रमोसनको लागी चलचित्रकर्मीले विभिन्न उपायहरू अपनाउदै आएका छन् । यसैमा मङ्सिर २९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘माई लभ’ले एक भाग्यशाली दर्शकलाई जापान जाने अवसर जुटाएको छ । प्रमोसनको क्रममा पोखरा पुगेको माई लभ टिमले चलचित्र हेरिसकेको दर्शकको लागी जापान जाने अवसर प्रदान गर्ने लागेको बताएको हो । त्यसको लागि चलचित्र हेरेका दर्शकले टिकट नं र हलको नाम ‘माई लभ’को फेसबुक पेजमा ट्याग वा ईन्बक्स गर्नुपर्नेछ । त्यसपछि निर्माण टिमले गोलाप्रथा गरी एक जना भाग्यशाली दर्शक छान्नेछ । उक्त दर्शकले आगामी अप्रिल २५ तारिकमा जापानमा हुन लागेको माई लभको प्रिमियरमा सहभागी हुन पाउने निर्माण पक्ष बताउछन् । विनाशकारी भूकम्पको कथालाई समेटीको चलचित्र माई लभलाई जापनिज निर्देशक तोसिआकी इतोहले निर्देशन गरेका हुन् । इतोहले यसअघि शिरीशको फुल नामक चलचित्र निर्देशन गरेका थिए । चलचित्रमा गणेश लामा, शीतल श्रेष्ठ, रिवन मित्सुतानी लगायतका कलकारको अभिनय रहेको छ ।