यही पुस २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राज्जा रानी’ले मोफसलको यात्रा सुरु गरेको छ । मोफसल प्रमोसनको लागी चलचित्र युनिट यति बेला बिराटनगर पुगेको छ । निर्माण पक्षको अनुसार चलचित्र युनिट बिराटनगरको प्रमोसनसँग झापा, जनकपुर, पोखरा, हेटौँडा, चितवन, नेपालगञ्ज हुदैँ काठमाडौँ फर्किने छ ।

 

यति बेला चलचित्रका मुख्य कलाकार नायक नाजिर हुसेन र नायिका केकी अधिकारी बिराटनगर पुगेको निर्माण पक्षले बताएको छ । यम थापाको निर्देशनमा तयार भएको चलचित्र ‘राज्जा रानी’मा तराईमा हुने दाइजो प्रथाको कथालाई उठान गरिएको छ । चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । ‘राज्जा रानी’ मा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।