सर्वनाम थिएटरले ‘ मोबाइल लघु सिनेमा प्रतियोगिता ’को आयोजना गर्ने भएको छ । आइतबार सर्वनाम थिएटरमा आयोजना गरिएको एक कार्यक्रम बिच ‘दृश्यांश’को दोस्रो संस्करण घोषणा गरिएको हो । राष्ट्रव्यापी मोबाइल लघु सिनेमा प्रतियोगिताको निम्ति मोबाइल फोनबाट बनाइएको नेपाली लघु सिनेमाहरको आव्ह्वान गरिएको छ । यो प्रतियोगितामा सहभागी हुन मोबाइलबाट खिचिएको बढीमा ३ मिनेट लामो लघु चलचित्र आयोजकलाई बुझाउन पर्नेछ । सहभागीले कुनै पनि विषयलाई लिएर चलचित्र बनाउन सकिने आयोजकले जानकारी दिए । सहभागी भएका चलचित्रहरुमा दश उत्कृष्ट सिनेमालाई पुरस्कार वितरण समारोहमा प्रदर्शन गरिनेछ । त्यस्तै उत्कृष्ट तीनलाई उपहारको साथै पुरस्कारले सम्मानित गरिने आयोजकले जानकारी दिए । प्रतियोगितामा पहिलो पुरस्कार नगद ७५ हजार, दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव रहेको छ । त्यस्तै अडियन्स च्वाइस अवार्डको रूपमा आइप्याड ९.७ इन्च प्रदान गरिनेछ । यस प्रतियोगिताको निर्णयकको रूपमा निश्चल बस्नेत, अभिनाश विक्रम शाह र दीपक रौनीयार र सुशील पौडेल रहेका छन् । प्रतियोगितामा प्रतियोगीले माघ १७ गते सम्म सहभागी जनाउन पाउने छन् । सहभागीले आफ्नो सिनेमालाई डी.भी.डीमा राखी सार्वनाम थिएटर, कालिकास्थान वा info@sarwanam.org.np पठाउन सक्नेछन् ।