चलचित्र विकास बोर्डको नव नियुक्त अध्यक्ष निकिता पौडेललाई चलचित्र सङ्घले स्वागत गरेको छ । सोमबार सङ्घको सभा कक्षमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गर्दै नव नियुक्त बोर्ड अध्यक्षलाई स्वागत गरेको हो । कार्यक्रममा चलचित्र सङ्घका अध्यक्ष प्रदीप कुमार उदयले खादा तथा टिका लगाएर बधाई दिए तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा नवनियुक्त बोर्ड अध्ष्यक्ष पौडेलले आफू सदैव चलचित्र क्षेत्रको विकासमा लागिरहने र दुई वर्षीय कार्य योजना छिटै सार्वजनिक गरिने बताइन् । कार्यक्रममा बाेल्दै चलचित्र सङ्घका अध्यक्ष प्रदीप कुमार उदय भन्छन् 'नेपाली चलचित्र क्षेत्रको विकासमा लामो समयदेखि आबद्ध परिवारको पहिलो महिला सदस्य निकिता पौडेल जस्तो सक्षम व्यक्ति चलचित्र विकास बोर्डले पाएको हुँदा हामीले गर्वको महसुस गरेका छौँ ।' उदयले कसैकाे विषयमा नकारात्मक टिप्पणी गर्नु भन्दा सम्पूर्ण चलचित्रकर्मी एक भई नवनियुत्त अध्यक्षले गर्ने चलचित्र क्षेत्रका हरेक विकाश निर्माणको काममा सघाउन समते अनुरोध गरे ।