चैत्र ९ गते प्रदर्शन गर्ने तयारी गरेको चलचित्र ‘शत्रु गते’को छायाङ्कन करिब करिब अन्तिम चरणमा पुगेको छ । निर्माण पक्षको अनुसार चलचित्रको ९० प्रतिशत छायाङ्कन सकिसकेको छ । ‘जात्रा’ निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भइरहेको चलचित्रको आइतबार एउटा गीतको छायाङ्कन गरिएको थियो । कपनको समता अस्पतालमा झिलिमिली बनाएर काठमाडौँको चिसोको मतलब नगरी ‘शत्रु गते’का कलाकार ‘रुपै मोहनी नारन रुपै मोहनी’ भन्दै कम्मर मर्कारहेका थिए ।  टंक बुढाथोकीले तयार बनाएको गीतमा कलाकार नचाउने जिम्मा कोरियाग्राफर कविराज गहतराजले लिएका छन् । गीतमा टंक बुढाथोकीलाई मिना निरौलाले साथ दिएकी छिन् । किरण केसी र महसंचारको निर्माण रहेको डार्क कमेडी जनराको चलचित्रमा हरिवंश आचार्य र दिपाश्री निरौला, पल शाह र आँचल शर्मा,  दिपकराज गिरि र प्रियंका कार्कीको जोडी देख्न सकिन्छ ।