चलचित्र फिर्केको नयाँ गीत सार्वजनिक भएको छ । ‘सानी सानी’ बोलको रोमान्टिक गीत निर्माण पक्षले आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा विश्व नेपाली र जुना प्रसाईँको स्वर रहेको छ भने रामशरण नेपालीको शब्द र गायक नेपालीको नै सङ्गीत रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय सुलेमान मान शङ्कर ’ईकु’ र नव नायिका क्रिष्टिना पौडेल फिचरिङ छन् ।
पौष २१ गते प्रदर्शनको तयारी गरेको चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् । उनी ’तितो सत्य’, ’जिरे खुर्सानी’ लगायतका टेलिसिरियलमा ’बेमान’को नामले परिचित छन् । चलचित्रमा सुलेमान र क्रिष्टिनाको साथमा अर्पण थापा, ऋचा शर्मा, विष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यु निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डी. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायाङ्कन रहेको छ ।