चलचित्र ‘लुट’बाट एकाएक चर्चामा आएका अभिनेता –दयाहाङ राई यति बेला एकपछि अर्को चलचित्रमा व्यस्त छन्। अभिनयकै कारण वाहवाही पाएका दया यदाकदा उनले खेलेका चलचित्रले व्यावसायिक सफलता हात नपारेका कारण उतिनै आलोचित पनि छन्। तर आलोचना उनले गरेको कामको नभएर उनले निभाउने गरेका एकै खालका भूमिकाको हो। रंगमञ्चमा एक दशक बढी काम गरिसकेका दयाहाङलाई सिनेमा क्षेत्रमा लुटको गोप्ले पात्रले एकाएक व्यस्तता बढाइदियो । चलचित्रमा दयाले गर्न जीवन्त अभिनयका कारण युवापुस्तामा उनलाई फलो गर्ने जमात ह्वातै बढ्यो ।
उनले अभिनय गरेका ‘कबडी’, ‘कबडी कबडी’, ‘झोेले’ लगायतका केही चलचित्रले उनको करियरलाई इँटा थपिदिने काम गरिदियो । उनले यी चलचित्रमा बोलेको संवादहरु युवा जमातमा अझै चर्चित छन् । पछिल्लो समयका व्यस्त कलाकारको रूपमा दयाको नाम अगाडी नै छ । लुटदेखि हालसम्म हेर्ने हो भने दयाले तीन दर्जन बढी चलचित्रमा काम गरिसकेका छन् । तर विडम्बना उनी अभिनित केही चलचित्रले मात्र बक्स अफिसमा धमाका मचाएका छन् ।यसमा अभिनयमा अब्बल मानिने दयाहाङलाई नै दोष देखाउनेको जमात एकथरी छ भने अर्कोले निर्देशक कथाबस्तु र उनलाई दिइएको रोलको कमजोरी देख्छन्।
यति बेला उनी अभिनित चलचित्र ‘मिस्टर झोले’ प्रदर्शनको तयारीमा छ । सोही चलचित्रको लागी मङ्गलवार राजधानीमा निर्माण युनिटले आयोजना गरेको कलाकारसँगको पत्रकार भेटघाट कार्यक्रममा दयाले सदाझैँ भूमिकाकै विषयमा प्रश्न सामना गर्नु पर्यो जवाफमा उनले भने, ‘कलाकारलाई बिकाउ बस्तुको रूपमा प्रयोग गरिएको छ । यो क्षेत्रमा चर्चित कलाकारहरू पनि आफूले गरिरहेको भूमिका भन्दा फरक गर्न आँट गर्न सक्दैन । कुनै एक कलाकारले आफू फरक भूमिकामा काम गर्छु भन्दा पनि चलचित्र टिमको ठुलो हात हुन्छ । कथा लेखन, निर्देशनले पनि असर गर्छ । ’ उनी थप्छन् ‘मैले पनि कति पल्ट यो सबैबाट बाहिर निस्किने प्रयास गरे, निस्किए पनि तर सकिँदैन ।’
दयाहाङ अभिनित पछिल्ला चलचित्रहरुले बक्स अफिसमा खासै राम्रो उपस्थिति नदेखाइरहेका बेला मिस्टर झोलेले बक्स अफिसमा राम्रो गर्यो भने दयाहाङको करियरमा के फाइदा पुग्ला ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनी भन्छन् ‘ एउटा कलाकार भएको नाताले चलचित्र सफल हुँदा पक्कै हाम्रो टिम खुसी हुन्छ । तर मेरो लागी बक्स अफिसमा राम्रो गर्दा मेरो जीवन नै परिवर्तन हुने वा नराम्रो भयो भन्दैमा दुखी हुनु पर्ने जस्तो लाग्दैन । मेरो लागी काम महत्त्वपूर्ण हो ।’
आफ्नो कामलाई प्राथमिकतामा राख्ने दयाहाङ आफूले सकेसम्म आफ्नो भूमिकालाई न्याय गर्ने प्रयास त गर्छन् नै तर एउटा चलचित्र सफल हुन मात्र एउटा कलाकारको मिहिनेत र इमानदारीताले काम गर्दैन यसको लागि चलचित्र युनिटले देखाएको लगाव, इमानदारीता र मिहिनेतले फरक पार्छ।
चलचित्र मिस्टर झोले मा दर्शकले कसको इमानदारीतालाई मन पराउनेछन् त्यो त हेर्न बाँकी नै छ।