यो साता सिनेमा घरमा दुई नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जस अन्तर्गत ‘ह्याप्पी न्यू इयर’ र ‘मन त परदेशी’ रहेको छ । देवकुमार श्रेष्ठको लेखन र निर्देशन रहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको सम्पूर्ण छायाङ्कन अस्ट्रेलियामा गरिएको छ । न्यू इयरको दिन घट्ने एक घटनालाई चलचित्रमा उतारिएको छ । चलचित्रलाई रती थापाले निर्माण गरेकी हुन् । यो चलचित्र मल्टिप्लेक्स र सिंगल थिएटरका केही हलमा रिलिज भएको छ ।
त्यस्तै अर्को नेपाली चलचित्र ‘मन त परदेशी’पनि यही साताबाट प्रदर्शनमा आएको छ । रोजगारीको लागी बिदेशिएका नेपाली युवामा पर्ने समस्यालाई चलचित्रमा समेटिएको छ । यो चलचित्रलाई देव नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ ।
बलिउडतर्फ गत साता रिलिज भएको सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को कारण कुनै पनि हिन्दी सिनेमा रिलिज भएन । दोस्रो सातामा प्रवेश गरेको ‘टाइगर जिन्दा हे’ले मल्टिप्लेक्समा अझै पनि अत्यधिक सो पाएको छ।
यो साता हलिउडतर्फ भने ’जुमाञ्जी( वेलकम टु द जङ्गल’ रिलिज भएको छ । फेन्टासी ड्रामाको जादुयी खेल र खेलमा सहभागीहरुले भोग्ने अवस्था देखाउने चलचित्रलाई जेक कासडानले निर्देशन गरेका हुन् । चलचित्रमा डावेन जोहान्सन (द रक), ज्याक ब्ल्याक, केभिन हार्ट, करेन गिल्लान लगायतको अभिनय रहेको छ।