अभिनेत्री केकी अधिकारी अभिनित सामाजिक चलचचित्र ‘गाउँकी छोरी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा केकी गाँउपालिका अध्यक्ष बनेकी छिन् । स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ । पढ्नका लागि सहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनीतिमा प्रवेश गर्छिन् । स्थानीय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन् । नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र गाउँकी छोरी युट्युबमा केही सातापछि सार्वजनिक हुनेछ । दीपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।