आज शुक्रवार सिनेमाघरमा आजबाट दुई नेपाली चलचित्र 'राज्जा रानी' र 'फिर्के' प्रदर्शनमा आएका छन् । यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्र 'राज्जा रानी'मा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । चलचित्रमा तराईमा हुने दाइजो प्रथाको कथा उठान गरिएको छ । बुधवार यो चलचित्रले सकारात्मक प्रतिक्रियाको साथमा आफ्नो प्रिमियर सो सम्पन्न गरेको छ । चलचित्रमा केकी र नाजिरको साथमा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता निपात लगायतका कलाकारको अभिनय रहेको छ। रमेश एमके पौडेलले निर्माण गरेको चलचित्र नेपाली र मैथली दुवै भाषामा रिलिज हुनेछ।
त्यस्तै कलाकार सुलेमान शङ्कर ’ईकु’को निर्माण तथा अभिनय रहेको चलचित्र 'फिर्के' पनि आजबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई कलाकार रवि डंगोल उर्फ 'बेमान'ले निर्देशन गरेका हुन् ।उनी ’तितो सत्य’, ’जिरे खुर्सानी’ लगायतका टेलिसिरियलमा ’बेमान’को नामले परिचित छन् । चलचित्रमा सुलेमान र क्रिष्टिनाको साथमा अर्पण थापा, ऋचा शर्मा, विष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यु निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डी. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायाङ्कन रहेको छ ।