यही पौष  २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’ले केही समय अघि कभर भिडियो प्रतिष्प्रर्धाको आयोजना गरेको थियो । चलचित्रमा समावेश भएको ‘ओखती’ बोलको गीतको कभर भिडियो प्रतिस्पर्धाका उत्कृष्ट तीन भिडियो छनोट गरेको छ । सोमबार काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गर्दै कभर भिडियो प्रतिस्पर्धामा सहभागी भएका उत्कृष्ट तीनलाई पुरस्कृत गरिएको हो । 
प्राप्त २५ भिडियोबाट विजेता भने पोखराको ‘क्रिष्टल क्लाउज क्रु’  भएको हो । उक्त नृत्य समूह पहिलो बन्दै १ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ । त्यस्तै दोस्रो भने ‘किशन एण्ड डान्स क्रु’ बनेको छ । दोस्रो बन्न सफल भएको समूहले १ लाख २५ हजार प्राप्त गर्‍यो । इटहरीको ‘द डाईनामिक क्रु’ भने प्रतियोगिताको तेस्रो बन्न सफल भएको छ । तेस्रो भएको समूहले १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । 
सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा दयाहाङ राई, दिया पुन, वर्षा राउत, बुद्धि तामाङ्ग, प्रविन खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।